Other News,
भाटभटेनी सुपर मार्केटमा ठगि
Posted by Bijay Kuikel
Published on Friday, July 5, 2013
२१ असार, काठमाडौ । भाटभटेनी सुपरमार्केटले बैंकको डेबिट कार्डमार्फत् सामान खरिद गर्ने ग्राहकलाई ठगी गर्ने गरेको रहस्य खुलेको छ । टकेस खरिद गर्न गएका कानुन व्यवसायी विश्वराज भट्टराईले ८ हजार ९ सय ६० रुपैयाँको सुटकेस खरिद गरेर हिमालयन बैंकको डेबिटकार्डबाट रकम भुक्तानी गरे पनि भाटभटेनी सुपरमार्केटकमा रहेको मेसिनले बिल प्रिन्ट नगर्दा त्यहाँका कर्मचारीले दुव्र्यवहार गरेका छन् ।भाटभटेनीको कोटेश्वरमा रहेको सुपरमार्केटको तेस्रो तलामा भट्टराई सुटकेस खरिद गर्न गाएका थिए । मूल्यमा कुरा मिलेपछि भट्टराईले आफूसँग नगद नभएको र हिमालयन बैंकको कार्डबाट रकम भुक्तानी गर्न मिल्छ/मिल्दैन भनेर सोधेका थिए ।
त्यसपछि उक्त सुपर मार्केटका कर्मचारीले मिल्छ भनेर काउन्टरमा लगेका थिए । काउन्टरमा लगेपछि पहिलो मेसिनमा कार्ड घुसाउने काम भएको थियो । कार्ड घुसाएपछि रकम टाइप गर्ने संकेत आएको थियो । रकम टाइप गरेपछि बिल प्रिन्ट हुनुपर्नेमा प्रिन्ट भएन । तर, भट्टराईको मोबाइलमा भने रकम भुक्तानी गरेको एसएमएस बैंकबाट आइसकेको थियो ।
पहिलो मेसिनबाट बिल प्रिन्ट नभएपछि फेरि दोस्रो मेसिनमा भट्टराईको बैंक कार्ड कर्मचारीले घुसाएका थिए । त्यसबाट पनि बिल प्रिन्ट भएन र फेरि रकम काटिएको एसएमएस बैंकबाट आएको थियो । एउटा सामानको लागि दुई पटक बैंकको खाताबाट रकम काटिँदा पनि त्यहाँका कर्मचारीले बिल प्रिन्ट नभएको कारण सामान लैजान पाईँदैन भनेर रोक्ने काम गरेका थिए । भट्टराईले सामान मागेपछि विवाद चर्किएको थियो ।
त्यसपछि लावती थर गरेका एकजना कर्मचारीले भट्टराईलाई भोलि तपाईँ आउनुहोस्, पैसा काटिएको रहेछ भने सामान दिउँला भनेर फकाएर पसलबाट निकाल्ने प्रयास गरेका थिए । उनको प्रयासमा अन्य कर्मचारीले सहयोग गरेका थिए । भट्टराईले आफू भोलि नै विदेश जान लागेको र आफूले पैसा तिरिसकेको कारण सामान लिएर जाने अडान लिँदै थप काटिएको ८ हजार ९ सय ६० रुपैयाँ भने विदेशबाट फर्किएपछि दाबी गर्ने जिकिर गरेका थिए ।
भट्टराईले जिकिर गरेपछि उनलाई गालीगलौज गरेर पसलबाट निकाल्ने प्रयास लावतीलगायका कर्मचारीहरुले गरेका थिए । त्यसपछि भट्टराईले आफू कानुन व्यवसायी भएको र तत्काल प्रहरी बोलाएर भए पनि कारबाही गर्ने बताएपछि लावती थरका ती कर्मचारीले बैंकमा फोन गरेका थिए । त्यसपछि उनले भट्टराईलाई सामान दिएका थिए ।
भाट-भटेनीजस्तो ठूलो कारोबार हुने पसलका कर्मचारीले पटकपटक गरेको दुव्र्यवहार र ग्राहक ठगी गर्ने मेसिन राख्नेमाथि भट्टराईले कानुनी कारबाहीको प्रक्रिया आफू विदेशबाट फर्किएपछि गर्ने बताएका छन् । उनले आफ्नो मोबाइलमा बैंकबाट आएको एसएमएस सुरक्षित राखेका छन् । भाटभटेनी नक्कली भ्याट बिल प्रकरणमा मुछिएका मीनबहादुर गुरुङको व्यवसाय हो ।
1 comments
Readers Comments





April 3, 2022 at 11:17 PM
Casino Roll
Join งานออนไลน์ Casino casino-roll.com Roll apr casino Online bsjeon.net Casino Roll jancasino 2021